२८ जूलाई २०१५

नेपालको कानुन र बालअधिकार आन्दोलनलाई नै चुनौति दिने तरिकाले २०७२ साल साउन ५ गतेका दिन नवलपरासी जिल्लाको कुडीया गाविस वडा नं. ४ मा जीवन कोहारको अन्धविश्वासपूर्ण रुपमा गरिएको पाशविक हत्याको घटनाले नेपालमा कार्यरत बालअधिकार सञ्जालहरुको नेतृत्व गर्ने National Action and Coordinating Group (NACG) को गम्भीर ध्यानाकर्षण भएको छ । मानव जगत्लाई नै स्तब्ध र मर्माहत बनाउने यस घटनाले बालअधिकार महासन्धि १९८९, बालबालिका सम्बन्धी ऐन २०४८ र बालबालिकासम्बन्धी राष्ट्रिय नीति २०६९ मा उल्लेख भए बमोजिम बालबालिकाको बाँच्न पाउने र संरक्षणको अधिकार ठाडै हनन भएको देखिन्छ । यसर्थ, उक्त घटनाको NACG भ्रत्सना गर्दछ र पीडित प्रति दुःख व्यक्त गर्दै अब उपरान्त कुनै पनि नेपाली बालबालिकाले यस्ता पासविक घटनाबाट पीडित हुन नपरोस् भन्ने कामना गर्दछ । यसर्थ, उक्त घटनामा संलग्न भएका व्यक्तिलाई हदैसम्मको कानुनी कारवाहीका लागि हामी बालअधिकारका क्षेत्रमा कार्यरत नागरिक समाज जोडदार माग गर्दछ ।

साथै, मानवअधिकारकर्मी श्री कृष्ण सुवेदीको नेतृत्वमा सत्य तथा तथ्य पत्ता लागउन एक राष्ट्रिय अनुगमन टोली २०७२ साउन १२ गते घटनास्थलमा पुगेको र अनुगमन प्रतिवेदन पनि यथाशिघ्र पत्रकार सम्मेलन गरी संप्रेशण गर्ने योजना रहेको छ ।

अन्ततः यस्तो पाशविक हत्याको पुनः निन्दा गर्दै यसको विरोधमा देशव्यापी रुपमा अभियान चलाउने प्रतिवद्धता व्यक्त गर्दछौँ ।

रविन नेपाली

उपाध्यक्ष, NACG Nepal