काठमाडौँ । ०७१ चैत ४ गते बालबालिकाको क्षेत्रमा काम गरिरहेका संस्थाहरू तथा बालअधिकारकर्मीहरूले बालबालिकालाई धर्ना, जुलुस र आमसभामा प्रयोग नगर्न अपिल गरेका छन् ।

बालबालिका शान्ति क्षेत्र तथा बालसंरक्षण राष्ट्रिय अभियान -सीजप), बाल सहभागितामा कार्यरत गैरसरकारी संस्थाहरूको साझा समूह (कन्सोटिर्यम) र बालसंरक्षण राष्ट्रिय सञ्जाल (एनसीपिए) ले चैत २ गते संयुक्त विज्ञप्ति प्रकाशन गरी यस्तो अपिल गरेका हुन् । "बालबालिकामाथि भएका बलात्कार र अन्य प्रकारका हिंसाका घटनालाई लिएर देशका विभिन्न ठाउँमा विरोधका कार्यक्रमहरू भएका छन् ।

बालबालिकाको पक्षमा यसरी सबै क्षेत्रबाट आवाज उठ्नु, सरोकार राख्नुज्यादै राम्रो पक्ष हो ।"-विज्ञप्तिमा भनिएको छ । तर, वयस्कहरूद्वारा गरिएको धर्ना, जुलुस, सभाहरूमा बालबालिकालाई संलग्न गराइएका तस्वीरहरू समाचार र सामाजिक सञ्जालमा व्यापक मात्रामा समेटिएका छन् ।

'बालबालिका र विद्यालय शान्ति क्षेत्र हुन्' भन्ने मान्यता, बालसंरक्षण, बालबालिकाको सर्वोत्तमहित र बालसहभागिताको दृष्टिकोणबाट पनि उचित नदेखिने हुँदा बालबालिकाको प्रयोग नगर्न सम्बन्धित सबैपक्षलाई सिजपका अध्यक्ष कृष्ण सुवेदीले अनुरोध गरेका छन् ।

रमेशप्रसाद तिमल्सिना

Source: www.inseconline.org (२०७१ चैत ४ गते)